येशू परमेश्वर हुनुहुन्न भन्ने ४ तर्कहरू र बाइबलीय जपाफ- 4 Arguments that Jesus is not God and a biblical argument


येशू परमेश्वर हुनुहुन्न भन्ने ४ तर्कहरू र बाइबलीय जपाफ

4 Arguments that Jesus is not God and a biblical argument






१. येशू ख्रीष्टको मासु र हाड छ यसैले येशू परमेश्वर हुनुहुन्न किनकि परमेश्वर त आत्मा हुनुहुन्छ ।

उत्तरः यूहन्ना १:१४ ले भन्दछ, “अनि बचन देहधारी हुनुभयो, र अनुग्रह  सत्यताले पूर्ण भई हाम्रा बीचमा वास गर्नुभयो...।” नयाँ करारका विवरणहरुले हामीलाई स्पष्ट रुपमा बताउँछ कि येशू ख्रीष्ट मासु र हाडमा नै हुनुहुन्थ्यो । जब येशू ख्रीष्ट मुत्युबाट पुनरुत्थान हुनु भयो त्यस पछि पनि उहाँ सँग मासु र हाडको शरीर थियो । लूका २४:३९ पनि भन्दछ, “मेरा हात र मेरा पाउ हेर, म नै हुँ, मलाई छोएर हेर । किनकि प्रेतको मासु हाड हुँदैन, तर तिमीहरु देख्छौँ, मेरा त छन् ।” “...येशूको मृत्युको करिब ६५ बर्षभित्रमा नयाँ करारका सबै पुस्तकहरु लेखिएका थिए । सत्ताइस ओटा मध्ये कम्तीमा पनि दस ओटा पुस्तकहरु उहाँसँगै हिँड्नेहरुले लेखे ।...”  यदि येशू वास्तवमा नै शरीरमा हुनुहुन्थ्यो भनी कसरी येशू परमेश्वर हुन सक्नु हुन्छ ? किनकि यूहन्ना ४:२४ ले भन्दछ, “परमेश्वर आत्मा हुनुहुन्छ,...।” परमेश्वर आत्मा हुनुहुन्छ शरीर होइन यसैले येशू परमेश्वर हुनुहुन्न भन्न सकिन्छ ?
          यूहन्ना १:१४ अनुसार बचन देहधारी हुनुभयो । यसैले येशू यस संसारमा मानवको रुपमा आउनु भयो । मानिसको रुपमा प्रभु येशूमा मासु र हाड दुवै थिए तर परमेश्वरको रुपमा उहाँ एक आत्मा हुनुहुन्थ्यो । यो विवाद उठ्नुको कारण मुक्तिदाताको द्वयात्मक चरित्रले हो । अदृश्य परमेश्वर दृश्यमान् बन्न उहाँले मासु र हाडको धारण गर्नु परेको हो ।” १ तिमोथी ३:१६ ले हामीलाई बताउँछ, “हामी स्वीकार गर्दछौँ, कि हाम्रो विश्वासको रहस्य अति महान छः उहाँ (प्व्ख् अनुवादमा परमेश्वर (न्यम) स्वयम शरीरमा (देहमा) प्रकट हुनुभयो, पवित्र आत्माद्वारा धर्मी ठहरिनुभयो...।” यस वचनको अर्थ यही हुन्छ कि हो येशू मानिस बनी संसारमा मासु र हाडको रुपमा आउनु भयो तर पनि उहाँ परमेश्वर हुनुहुन्छ । किनकि उहाँ मानिसको उद्धारको निम्ति यस्तो गर्नुभयो । परमेश्वर आत्मा हुनुहुन्छ तर पनि मानिसको उद्धारको लागि शरीरमा प्रकट हुनुभयो । “येशू ख्रीष्ट अदृश्य परमेश्वरको दृश्य रुप हुनुहुन्छ । हामीले उहाँलाई अझै बुझ्न सकौँ र हाम्रो निम्ति भएको उहाँको उद्धारको योजनालाई सिक्नसकौँ भनेर उहाँ मानिस बन्नुभयो । उहाँले मानव बन्नलाई रोज्नुभएको हुनाले अब एउटै व्यक्ति येशूमा ईश्वरीय र मानव गरी दुई स्वभावहरु छन् । रोमी १:३–४ ले हामीलाई बताउँछः
          आफ्ना पुत्रको विषयमा, जो शरीरअनुसार दाऊदको वंशबाट जन्मनुभयो, अनि पवित्रताको आत्मा अनुसार मुर्दाबाट पुनरुत्थान हुनुभएकाले शक्तिसँग परमेश्वरका पुत्र ठहरिनुभयो, अर्थात येशू ख्रीष्ट हाम्रा प्रभुको विषयमा ।”
यसैकारण परमेश्वर आत्मा हुनुहुन्छ तापनि मानिसहरुको पापको उद्धारको निम्ति मानिसको रुपमा आउनु भयो । उहाँ शरीरमा वा हाड र मासुमा आउनु भएता पनि उहाँ परमेश्वर हुनुहुन्थ्यो, हुनुहुन्छ र भईरहनुहुन्छ ।

२.येशू ख्रीष्ट परमेश्वर हुनुहुन्न किनकि येशूको सुरुवात छ तर परमेश्रको सुरुवात नै छैन ।

उत्तरः यूहन्ना ८:४२ ले भन्दछ, “...किनभने म परमेश्वरबाट निस्कआएँ ।” । यस्तै कलस्सी १ः१५ मा लेखिएको छ, “सारा सृष्टिको ज्येष्ठ हुनुहुन्छ ।” हिब्रू १:५ “तिमी मेरा पत्रु हौँ, मैले नै आज तिमीलाई जन्माएको छुँ... आफ्नो प्रथम जन्मेकालाई संसारमा ल्याउनुहुदाँ उहाँ फेरी भन्नुहुन्छ, ।” के यी पदहरुले येशूको सुरुवात छ भन्न खोजेको हो त ?
कलस्सी १:१५ मा उल्लेख गरिएको वाक्यलाई हेरौँ , “सार सृष्टिका ज्येष्ठ हुनुहुन्छ ।” “यो वाक्यांशको अर्थ ख्रीष्ट सृष्टि गरिनुभएको थियो भन्ने लाग्दैन । बरु, “”ज्येष्ठ  मा पुरानो करारको अर्थ छः “ओहोदामा पहिलो,” “उत्तराधिकारी” वा “सर्वाेच्च” (उदाहरणको लागि प्रस्थान ४:२२, यर्मिया ३१:, भजनसंग्रह ८९:२७ याद गर्नुहोस् । जहाँ दाऊदको शासनको निम्ति “जेठो” शब्द प्रयोग गरिएको छ, यद्यपी दाऊद जेठो छोरा थिएनन् ।) ख्रीष्ट अनन्त पुत्रको रुपमा सारा सृष्टिका उत्तराधिकारी र शासक हुनुहुन्छ । कलस्सी १:१८ “उहाँ शरीर, अर्थात मण्डलीका शिर हुनुहुन्छ, उहाँ नै सुरु हुनुहुन्छ मरेकाहरुबाट जीवित हुनेहरुमा उहाँ ज्येष्ठ हुनुहुन्छ, ताकि प्रत्येक कुरामाथि उहाँ सर्वाेच्च होऊन् । हिब्रू १:१–२ “...पुत्रलाई नै उहाँले सबै कुराका उत्तराधिकारी नियुक्त गर्नुभयो, उहाँद्वारा नै समस्त सृष्टि रच्नु पनि भयो ।”  हिब्रू १:५ मा परमेश्वर भन्नुहुन्छ “तिमी मेरा पुत्र हाँै, मैले नै आज तिमीहरुलाई जन्माएको छु...।” एक तर्फबाट हेर्दा यहाँ परमेश्वर पिताले येशू ख्रीष्टलाई जन्माउनु भएको जस्तै लाग्छ । तर हामीले हिब्रू १:५ पढेर मात्र हुदैन हिब्रू १:६ पनि पढ्नु अति आवश्यक छ । यहाँ लेखिएको छ, “आफ्नो प्रथम जन्मेकालाई संसारमा ल्याउनुहुदाँ उहाँ फेरी भन्नुहुन्छ...।” यहाँ हामीले याद गर्नु पर्ने कुरा चाहिँ यो चाहिँ येशूको सृष्टि वा रचिनु भएको कुरा भन्नु भएको होइन तर येशू ख्रीष्ट मानवको रुपमा संसारमा कन्या मरियमको गर्भमा आउनु भएको बेलामा भन्नुभएको कुरा हो । परमेश्वरले प्रथम जन्मेकालाई संसारमा ल्याउनु हुदाँ भन्ने वाक्यले येशू सृष्टि गरिनु भएको हो भन्ने अर्थ लाग्दैन तर उहाँ कन्या मरियमको कोखमा मानवको रुपमा धारणा गर्नु भएको हो भन्ने कुरा बुझिन्छ । ख्रीष्ट, अनन्त परमेश्वर मानव बन्नुभयो । फिलीप्पी २ः५–९ पदले भन्दछ, “... परमेश्वरको स्वरुपमा (रुपमा) भएर पनि उहाँले परमेश्वरको बराबरी हुने कुरालाई एउटन पव्रिmराख्ने बस्तुजस्तो ठान्नुभएन । तर आफैलाई  रित्त्याईकन कमाराको रुप (स्वभाव) धारण गरेर। तथा मनुष्य भएर जन्मनुभयो । स्वरुपमा मानिसजस्तै भएर आफैलाई होच्याउनुभयो, र मृत्युसम्मै आज्ञाकारी रहनुभयो । त्यसैकारण परमेश्वरले उहाँलाई अति उच्च पार्नुभयो, र उहाँलाई त्यो नाउँ प्रदान गर्नुभयो, जो हरेक नाउँ भन्दा उच्च छ ।”
          यसैले हामी भन्न सक्छौँ कि येशू सृष्टि गरिएको होइन तर उहाँ त अनन्त देखी नै हुनुहुन्छ । (यूहन्ना १:१–३,१०,हिब्रू १:१–३, प्रकाश १:,१८,२२:१३) । येशू अल्फा र ओमेगा हुनुहुन्छ, उहाँलाई कसैले सृष्टि गरिएको होइन तर उहाँ त अनन्त देखी नै अस्तित्वमा हुनुहुन्थ्यो, हुनुहुन्छ र भईरहनुहुनेछ । “पवित्र आत्माद्वारा गर्भमा उत्रिनहुने येशूको मानिसको रुपमा शुरुवात छ, तर परमेश्वरको रुपमा प्रभु येशूको न त शुरुवात छ, नत अन्त नै । (यूहन्ना ८:५६–५८, कलस्सी १:१७, यूहन्ना १:१८, यशैया ९:६) ।”


३.येशू ख्रीष्ट परमेश्वर हुनुहुन्न किनभने होशे ११:९ ले भन्छ परमेश्वर मानिस होइन अनि इजकिएल २८:२ ले भन्छ मानिस परमेश्वर होइन ।

उत्तरः येशू ख्रीष्ट परमेश्वर हुनुहुन्न किनकि उहाँ मानिस हुनु भयो र अहिले पनि मानिस नै हुनुहुहुन्छ भन्ने तर्फ कति मानिसले गर्ने गर्दछन् । येशू मानव भए पनि कसरी परमेश्वर हुनुहुन्छ भन्ने प्रमाण हामीले प्रश्न नम्बर १ मा नै दिई सकेका छौँ । हो येशूको मानव शरीर थियो तर पनि उहाँ परमेश्वर हुनुहुन्थ्यो हुनुहुन्छ र भईरहनु हुनेछ । होशे ११:९ मा लेखिएको छ, “...किनकि म परमेश्वर हुँ, मानिस होइनँ...” यहाँ परमेश्वर म मानिस जस्तो व्यवहार गर्दिन भन्ने प्रसंगमा यस कुरा गर्दै हुनुहुन्छ । यस्तै इजकिएल २८:२ ले भन्दछ, “हे मानिसको छोरो, टुरोसको शासकलाई भन्, ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः तेरो हृदयको घमण्डमा तँ भन्छस्, ‘म एक देवता हुँ । म समुन्द्रको बीचमा एउटा देवताको सिंहासनमा बस्तछु !’ तर तँ त एक जना मानिस मात्र होस्, देवता होइनस्, यद्यपि तैंले आफैलाई एक देवता जत्तिकै बुद्धिमान् सम्झन्छस् ।’” यस पदमा परमेश्वरले टुरोसका राजालाई उसको घमण्डको बारेमा भन्दैहुनुहुन्छ । सम्पूर्ण बाइबलमा काही पनि परमेश्वरले भन्नु भएको छैन कि ‘परमेश्वर मानिस बन्न सक्दैन ’ । मानिस परमेश्वर बन्न सक्दैन भन्ने कुरा लेखिएको छ तर परमेश्वर मानिस बन्न सक्दैन भन्ने कुरा लेखिएको छैन । यदि परमेश्वर मानिस भएमा के परमेश्वर हुनुहुन्न त? यो कदापि हुदैन । परमेश्वर मानिस भएतापनि परमेश्वर, परमेश्वर नै हुनुहुन्छ । “मानिसको रुप धारण गर्नु अधि पनि येशू पिता परमेश्वरसित समान परमेश्वर हुनुहुन्थ्यो, आज पनि हुनुहुन्छ अनि सधै भरी हुनुहुनेछ ।”  “उहाँ आफै मानिसको रुप धारण गर्नुभयो । ...मानिसको रुपमा संसारमा आउनुभएर मानिसहरुलाई परमेश्वरको परिचय दिनुभयो । यस कुराले उहाँ संसारमा जन्म लिनुभयो अधि परमेश्वरको रुपमा हुनुुहुन्थ्यो भन्ने कुरा देखाउँछ, किनकि त्यही व्यक्तिले मात्र परमेश्वरको परिचय दिनसक्थ्यो जो अधिबाट परमेश्वरको साथमा हुनुहुन्थ्यो ।”  तसर्थ येशू मानिस भएता पनि उहाँ परमेश्वर नै हुनुहुन्छ भन्ने कुरामा हामी पूर्ण विश्वास राख्नु पर्दछ । येशू मानिस भएता पनि कसरी परमेश्वर हुनुहुन्छ भन्ने प्रमाण हामीहरुको माझमा धेरै नै छन् । “परमेश्वरले मासु र हाड्डीको रुपमा मानिसको शरीर धारण गर्न सक्नुहुन्न भनी होशेले भनेका छैनन् । उहाँको निम्ति कुनै कुरा असम्भव छैन, यर्मिया ३२ः१७,१८, यसैकारण उहाँ मानिसको शरीरमा प्रकट हुन सक्नुहुन्छ ।” 


४.येशू परमेश्वर हुनुहुन्न किनभने उहाँले परमेश्वरलाई मत्ती २७:४६ र यूहन्ना २०:१७ मा पिता भनी पुकार्नुभयो ।

उत्तरः “चार सुसमाचार पुस्तकमा ‘मानिसको पुत्र’ भनेर ८१ पटक उल्लेख गरिएको छ, मत्तीमा ३० पटक, मर्कूसमा १४ पटक, लूकामा २५ पटक र यूहन्नामा १२ पटक”  यसैकारणले येशू ख्रीष्टले परमेश्वरलाई पिता भनी पुकारा गर्नुभएको छ । यदि येशू ख्रीष्टले परमेश्वरलाई पिता भनी पुकार्नुहुन्छ भने येशू ख्रीष्ट कसरी परमेश्वर हुनुभयो ? हो हामी नयाँ करारको बिशेष गरी ४ सुसमाचारको पुस्तक अध्यायन गछौँ भने येशू ख्रीष्टले परमप्रभु परमेश्वरलाई पिता भन्नु भएको छ । हामीले कहिले पनि बिर्सनु नहुने कुरा के हो भने येशू मानिस वा व्यक्तिको रुपमा संसार हुनुहुन्थ्यो । उहाँ संसारमा हुदाँ परमेश्वरलाई पिता भनी पुकारा गर्नुभयो । “नयाँ करारम येशू ख्रीष्टले  परमेश्वर लाई ‘पिता’ भनी सम्बोधन करिब १०० पटक गर्नुभएको छ ।”  येशू संसारमा हुनुहुन्थ्यो यसैले उहाँलाई परमेश्वर भनी पुराका गर्नु भयो । बाइबल आफैले येशू परमेश्वरको पुत्र हुनुहुन्छ भन्ने कुरा उल्लेख गर्दछ (लूका १:३५, मर्कूस ३:११) । येशूलाई परमेश्वरको पुत्र भनियो भनेर उहाँ परमेश्वर हुनुहुन्न वा येशूले परमेश्वरलाई पिता भन्नुहुदाँ येशू परमेश्वर हुनुहुन्न भन्न मिल्दैन । हिब्रू १:८ मा येशूलाई “परमेश्वर” भनि सम्बोधन गरिएको छ । यहाँ यस्तो भन्दा पिता चाहिँ परमेश्वर होइन भन्न खोजेको पनि होइन । यसैले येशू पनि परमेश्वर हुनुहुन्छ । येशू परमेश्वरको पुत्र हुनु भएतापनि उहाँ परमेश्वर र परमेश्वरको बराबरी हुनुहुन्छ भन्ने कुरामा कुनै शंका छैन । किनकि हामीलाई पुरानो करारको र नयाँ करारको अधिकाशं बाइबलीय खण्डहरुले येशू परमेश्वर हुनुहुन्छ भन्ने कुरा बताउँछ । “पुरानो करारमा दाऊदका वंशको राजा परमेश्वरको पुत्र कहलाइन्थ्यो, किनकि ऊ मार्फत् परमेश्वरले आफ्ना जनमाथि शासन गर्नुहुथ्यो (२ शमूएल ७:१४; भजनसंग्रह २:६–७) । प्रतिज्ञा गरिएको मसीह पनि परमेश्वरको परमेश्वरको पुत्र हुनुहुन्थ्यो, कारण उहाँ मसीह नै येशू हुनुहुन्थ्यो । तर मसीहसम्बन्धी अर्थमा उहाँको स्थान परमेश्वरका पुत्रभन्दा धेरै महत्वपूर्ण थियो । उहाँ परमेश्वरको पुत्र हुनुहुन्थ्यो यो अर्थमा कि उहाँ परमेश्वर हुनुहुन्थ्यो । मसीह हनुभएको कारण उहाँ परमेश्वरको पुत्र हुनु भएको थिएन । तर अघिबाट नै उहाँको अस्तित्व परमेश्वरका पुत्रको रुपमा भएको हुनाले उहाँ मसीह हुनुभयो (मत्ती २२:४२–४५; यूहन्ना १:३४,४९,२०:३१) ।”


  सन्दर्भ सामाग्रीः
अधिकारी, कमल, येशू को हुनुहुहुन्छ ? (काठमाण्डौँःसामदान प्रकाशन, २०१८), पेज,८ ।
  रीग्स्, एम.राल्फ, हामी विश्वास गछौँ (काठमाण्डौ? आई.सी.आई. यूनिभर्सिटी, २००६), पेज,४६ ।
  स्टाम्स्, सी. डोनाल्ड, पूर्ण जीवन अध्ययन बाइबल, (काठमाण्डौः लाईफ पब्लिसर इन्टरनेसनल,२०१७),पेज,२५८९।
  डग्लस, अल्बान, वचनबाट सयपाठ, (काठमाण्डौँः बरदान प्रकाशन, २००४), पेज,४४।
  डग्लस, अल्बान, वचनबाट सयपाठ, (काठमाण्डौँः बरदान प्रकाशन, २००४), पेज,४८।
  फ्लेमिङ, डन्, ब्रीज सचित्र बाइबल शब्दकोश (काठमाण्डौँः जी.एफ.ए प्र्रकाशन,२०१४)पेज,५४८।
  डग्लस, अल्बान, वचनबाट सयपाठ, (काठमाण्डौँः बरदान प्रकाशन, २००४), पेज,४४।
  फ्लेमिङ, डन्, ब्रीज सचित्र बाइबल शब्दकोश (काठमाण्डौँः जी.एफ.ए प्र्रकाशन,२०१४)पेज,२८५।
https://www.google.com/search?client=opera&q=how+many+time+jesus+day+Father&sourceid=opera&ie=UTF-8&oe=UTF-8,4/27/2020,5:12 PM.
  https://www.openbible.info/topics/how_many_times_does_jesus_call_god_father,4/27/2020,5:27 PM.



अधिक जानकारीको लागीः

Name: Sangam Shrestha

Email: shresthasangam333@gmail.com

            sthasangam333@gmail.com

Phone: 9861310079

Blogger: https://sangamshresth.blogspot.com

Youtube Channel

Apologetics Faith's Channel






येशू परमेश्वर हुनुहुन्न भन्ने ४ तर्कहरू र बाइबलीय जपाफ- 4 Arguments that Jesus is not God and a biblical argument येशू परमेश्वर हुनुहुन्न भन्ने ४ तर्कहरू र बाइबलीय जपाफ- 4 Arguments that Jesus is not God and a biblical argument Reviewed by Sangam Shrestha on May 01, 2020 Rating: 5

No comments:

Powered by Blogger.